अंग्रेजी माध्यमको निहुँमा स्थानीय भाषाको अपमान किन?



शिवराम पौडेल

विश्वमा ७००० भन्दा बढी भाषाहरु अस्तित्वमा रहेका छन् । हाम्रै देश नेपालमा १२९ वटा भाषा अभिलेख भएका छन् । यी सबै भाषाहरु मध्ये, अंग्रेजी भाषाले हाम्रो विद्यालय शिक्षामा महत्वपूर्ण स्थान ओगट्न सफल हुनुमा यसकोे विश्वव्यापी प्रयोग र प्रचुर सम्भावनाहरुको केन्द्र भएकै कारण होला । अंग्रेजी भाषालाई विश्वले अन्तर्राष्ट्रिय भाषाको रूपमा स्वीकारेको अवस्थामा यसको ज्ञान लिन कोसिस गर्नु स्वाभाविक हो । अंग्रेजी भाषा जान्नु ज्ञान, मनोरंजन, सञ्चार, प्रविधि, ब्यापार, आदिको भण्डारको चाबी प्राप्त गर्नु हो । अंग्रेजी भाषामा कमजोर भएकै कारणले विश्वव्यापीकरणमा समावेश हुन नपाउनु विडम्बना हो ।

भाषा सिकाउनु र सिकाईको माध्ययम भाषा बनाउनु नित्तान्त फरक कुरा हुन् । भाषा सिकाईको माध्ययमको रुपमा लिइनु पर्दछ नकी आफैमा सिकाईको विषयवस्तु । अंग्रेजी माध्ययमा शिक्षण सिकाई गर्नु भनेको विषयवस्तु, सिप र कलाको सिकाइमा अंग्रेजी भाषाको प्रयोग गर्नु हो । सिकाईको माध्ययामको रुपमा त्यो भाषा प्रायोग गर्नु उचित हुन्छ जुन सिकारुले सहजै बुझ्न र प्रयोग गर्न सक्ने हुन्छ । अंग्रेजी भाषा नेपालिहरुको लागी विदेशी भाषा हो । नेपालको राष्ट्रीय भाषा नेपालीसँग यसको कुनै तालमेल छैन । बिद्यालय शिक्षामा अंग्रेजीलाई अनिवार्य भाषा विषयको रूपमा शिक्षण गर्ने गरिन्छ, तर यसैलाई सिकाईको निर्विकल्प माध्ययम को रुपमा प्राय निजि र केहि सामुदायिक विद्यालयमा प्रयोग गरिँदै आइएको छ । यसरि अंग्रेजी भाषालाई विद्यालयमा सिकाईको माध्ययमको रुपमा प्रयोग गर्ने चलन बढ्दो क्रममा छ ।

शिक्षालाई आधुनिक बनाउने नाममा आफ्नो मातृ भाषालाई भुलेर अन्य भाषा को प्रयोग गर्न खोज्नु कस्तुरीले आफ्नै शरीर बाट आउने सुगन्धको स्रोत जंगलमा खोज्नु जस्तै हो, जो कहिल्यै भेटिँदैन । मातृभाषा मात्र यस्तो भाषा हो जुन बच्चाले जन्मनु भन्दा पहिले आमाको कोखमा सुन्ने गरेको हुन्छ ।  जन्मेपछि सबैभन्दा बढी अनावरण हुने भाषा मातृभाषा हो, जुन उसले औपचारिक रुपमा नसिकेरै  सहज र सरल रुपले प्रयोग गर्न सक्दछ । उसका लागि नयाँ–नयाँ विषयवस्तु, सिप, कला, नैतिकता संस्कार र आफ्नो समाज तथा संस्कृति सिकाउन मातृभाषा जति प्रभावकारी कुन माध्ययम हुन सक्ला !

नेपाल बहुभाषिक, बहुसाँस्कृतिक राष्ट्र हो । यहाँ १२९ भाषा प्रचलनमा रहेको तथ्यांकमा उल्लेख छ । भाषा र संस्कृति एक–अर्काका परिपुरक हुन् । भाषाले संस्कृतिलाइ बोकेको हुन्छ । कुनै पनि भाषा सिक्न सम्बन्धित संस्कृतिको पनि ज्ञान हुनु अति आवश्यक हुन्छ । विश्वमा भाषा संरक्षण र उत्थानका निम्ति अनेकन संघर्षहरु हुने गरेका उदाहरण प्रशस्त देख्न र  सुन्न पाइन्छ । भाषा संस्कृतिको आवाज पनि हो । भाषा विना समाज र संस्कृतिको विकासनै अन्त्य हुन्छ । भाषा संरक्षण गर्नु संस्कृति, संस्कार जीवनशैली मूल्यमान्यता आदिको संरक्षण गर्नु हो । विद्यालय शिक्षामा स्थानीय भाषाको प्रयोग गर्नु उक्त भाषाको संरक्षणको सुरुवात गर्नु हो । विश्वमा दिनानुदिन भाषाहरू लोप हुने क्रम बढिरहेको अध्ययनले देखाउँछन् ।

The Languages Conservancy नामक संस्थाका अनुसार विश्वमा वार्षिक ९ ओटा भाषा लोप हुने गरेका छन् । तथ्याङ्कका आधारमा ४२ % भाषाहरू लोप हुने खतरामा छन् । कुनै भाषा लोप हुने कारणहरूमा उक्त भाषा बोल्ने मानिसहरू अन्य कुनै भाषा सिक्न र सन्तानलाई सिकाउन थाल्नु मुख्य हो । भाषालाइ राजनीतिक उपयोग र शक्ति प्रदर्शन गर्ने माध्ययामको रुपमा अन्ताराष्ट्रिय स्तरमै प्रयोग गर्ने गरिन्छ ।  यसको कारण भाषा सँगै भाषाले बोकेर ल्याउने संस्कृति र संस्कार हो । अबको यूग सांस्कृतिक उपनिवेश (Cultural Imperialism) को युग हो । कुनै पनि देशलाई सांस्कृतिक उपनिवेश जमाउन उक्त देशमा आफ्नो भाषाको प्रयोग बढाउनु पहिलो खुड्किलो हो । यससँगै संस्कृति, संस्कार, जीवनशैली माथि अधिपत्य जमाउन र अन्त्यमा आर्थिक सामाजिक र राजानितिक रुपमा उपनिवेश गराउन सहजै सफलता हाँसिल गर्न सकिन्छ । यसकालागि हाम्रो जस्तो गरिब, बेरोजगारी बढी भएको र कम साक्षरता भएको देश उनीहरुको पहिलो रोजाइमा पर्दछ ।

सांस्कृतिक उपनिवेशकै प्रयोजनका लागि अमेरिका, चिन, भारत जस्ता देशहरु आ–आफ्नो भाषाको विश्वव्यापिकरणमा लागि परेका छन् । जसको ज्वालन्त उदाहरण नेपालको संविधान निर्माण गर्ने क्रममा हिन्दी भषाको स्तर निर्धारणमा भारतको अघोषित हस्तक्षेपलाई लिन सकिन्छ । यसरी हाम्रो संस्कृति, भाषा, मूल्य मान्यताप्रति समय–समयमा नीतिगत तथा व्यावहारिक हस्तक्षेप हुने गरेका छन् । यस्ता प्रहार हरुलाई निस्तेज पार्न पनि हामि हाम्रो शिक्षा नीति समयानुकुल व्यावहारिक र स्थानीय माटो सुहाउँदो रुपमा परिमार्जन गर्नु आवश्यक हुन्छ ।

आधारभूत तहमा सिकईको माध्यम स्थानीय भाषा हुन सक्ने(पाउनु पर्ने) ब्यवस्था नेपालको संविधानमा मौलिक हकको रुपमै स्थापित छ ।  यति हुँदा–हुँदै पनि नेपालका बौद्धिक वर्गले नै भाषाका नाममा शिक्षाको ब्यापार गरिराखेका छन् । मानसिक र शारीरिक रुपमा परिपक्व भएपछी जुनसुकै भाषा पनि सिक्न सकिन्छ । सबैभन्दा पहिला बच्चालाई संस्कार, नैतिकता, अनुशासन समाज र सामाजिक चालचलन इत्यादि सिकाउन उसैको मातृभाषा जस्तो उपयुक्त भाषा अरु कुन हुन सक्ला ? बच्चाले आफनै देशको ‘विपी’ नचिनिकन बिदेशी ‘शेक्सपियर’ चिन्न के खाँचो ! आफनै ‘रोदी’ नदेखिकन माइकल ज्याक्सन को ‘रक डिस्को’ सिकेर के फाइदा ! सेल रोटि नाचाखी पिज्जा कति स्वादिलो ! भन्ने जस्ता आजभोलीका दैनिकीहरु हामीले भोगिरहेकै छौं ।  यसरि शिक्षा दिइएको व्यक्तिलाई विदेशीले आफ्नो संकृति, रितिरिवाज, चाडपर्व, खाना, संगीत, इत्यादिको बारेमा सोध्दा अक्क न बक्क पर्नु बाहेक के गर्नु बाहेक अर्को विकल्प छैन ।  त्यो बेला जस्तो पिडा बोध कुन बेला होला ! के आफूप्रति धिक्कार नहोला ? कुनै बच्चाले आफ्नो मातृभाषा प्रयोग गरे बापत विद्यालयमा सजाय पाउँछ भने त्यो बच्चाले आफ्नो भाषालाइ सम्मान गर्न सक्ला ? ति कलिला मष्तिष्कमा उसको मातृ भाषाप्रती कस्तो प्रभाव पर्ला ? के यसो गर्नु बच्चाको मातृभाषाको अपमान गर्नु होइन ? आफनै गाउँको विद्यालयमा प्रयोग गर्न नपाइने भाषाको महत्व के ? जुन भाषाको प्रयोग विद्यालय भन्दा बाहिर गरिँदैन, जुन भाषा कनिकुथी प्रयोग गर्नुपर्ने हुन्छ त्यही भाषालाई सिकाईको माध्ययम बनानु कति उचित हो ! जबकी सिकाई अन्तरक्रिया र प्रयोग बाट मात्र सम्भव छ ।

भाषाले भावनाको आदानप्रदान गराउन सक्नु पर्दछ । भाषाकै कारणले आफ्ना मनमा जागेका प्रश्न, उत्कण्ठा, उत्सुकता, र सृजनशीलता अंकुरण हुन नपाउँदै मार्नु पर्ने, के सिकाई यहि हो ?

 –जय मातृभाषा !! 

यस पछि यस अघि
No Comment
प्रतिक्रिया दिनुहोस्
comment url