माधव नेपालको नयाँ पार्टीमा महासचिव को ? रामकुमारी झाँक्रीसहित यी व्यक्तिको नाम चर्चामा
काठमाडौं,
नेकपा एमालेबाट विधिवत् रुपमा विभाजन भएर आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपालले अब आफूपछिको शक्तिशाली व्यक्ति को बनाउलान भन्ने चर्चा चल्न थालेको छ।
नेपालले पार्टी हाँक्ने नेतृत्वको टिम अर्थात् स्थायी कमिटी कस्तो बनाउलान्? त्यसमा ल्याइने अनुहार को को होलान्? अनि पार्टीमा अध्यक्षपछिको शक्तिशाली पद मानिने महासचिवमा उनले कसलाई अगाडि सार्लान्? भन्ने जस्ता प्रश्नहरू उब्जिएका छन् ।
कम्युनिष्टका रुपमा आफूलाई चिनाउने पार्टीमा अध्यक्षपछि महासचिव पद नै कार्यकारी र शक्तिशाली हुने भएकाले पनि यस्तो चर्चा अस्वाभाविक होइन।
महासचिवको जिम्मेवारी पार्टीमा महत्वपूर्ण हुन्छ नै, सँगै अरु कैयौं कुरा पनि त्यसमा आवश्यक हुन्छन्। एक हिसाबले भन्दा संगठन हाँक्ने पद नै महासचिव हो। त्यसका लागि नेकपा (एकीकृत समाजवादी)मा विधान, सांगठनिक संरचनालगायत पार्टी दर्ता हुँदा सबैभन्दा धेरै खटिएका स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले महासचिवको जिम्मेवारी पाउन सक्ने सम्भावना धेरै रहेको एक केन्द्रीय सदस्यले बताए। ‘पार्टीका पुराना र वैचारिक नेता भएकाले भुसालले इच्छा नदेखाएपनि पार्टी नेताहरुले त्यो रुपमा हेरेका छन्’, उनले भने।
अर्का एक नेताले पाण्डेले अहिले नै पनि पार्टीको महासचिवको जस्तै भूमिका निर्वाह गरिरहेको बताए। उनले भने, ‘तर, उहाँलाई पाँचदलीय गठबन्धनबाट बागमती प्रदेशका मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी भईरहेको छ। त्यसो भएमा उहाँ महासचिव र मुख्यमन्त्री दुबै हुन सक्नुहुन्छ, तर यी दुबै पद एकै व्यक्तिलाई बोझ हुनसक्छ। उहाँ मुख्यमन्त्री बन्ने स्थिति नभएमा महासचिव बन्ने सम्भावना उहाँकै धेरै छ।’
यसबाहेक केन्द्रीय सदस्यहरु गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडाले समेत आफूलाई महासचिव पदको दाबेदारका रुपमा प्रस्तुत गरिरहेका छन्। तर, त्यो चरणमा प्रवेश नभएकाले कसैले औपचारिक रुपमा मुख खोलेका छैनन्। बरु, नेपालको अडानमा निरन्तर साथ दिएकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई महासचिव बनाउन कार्यकर्ता र सुभेच्छुकहरुले मुखर भएरै आवाज उठाइरहेका छन्। सञ्चारमाध्यममा झाँक्रीलाई कार्यकारी भूमिकासहितको महासचिव बनाउन दबाब दिएर लेख प्रकाशन हुनथालेका छन्।
२०६२/६३ को जनआन्दोलनदेखि नै आफूलाई फरक भूमिकामा उभ्याएकी झाँक्री नयाँ पुस्ताको जुझारु नेताको रुपमा चिनिन्छिन्। तर, उनलाई महासचिवका रुपमा हेर्न चाहनेको पंक्ति कार्यकर्ता र सुभेच्छुकको मात्र छ। जबकि, नेताको पंक्तिले नै नचाहँदासम्म यो सम्भव हुनेछैन। त्यसमाथि उनलाई महासचिव बनाउँदा क्रमभंग गर्नुपर्ने भएकाले नेपालले त्यो आँट गर्ने सम्भावना निकै कम रहेको नेताहरु नै बताउँछन्।
