साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि आवश्यक भौतिक वातावरण
साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि आवश्यक भौतिक वातावरण
हाम्रा साना बालबालिकाको गुणस्तरीय सिकाइका लागि विद्यालयहरूमा कस्तो प्रकारको भौतिक वातावरण आवश्यक छ?
बालबालिकाले खेल, क्रियाकलाप र सामाजिक अन्तरक्रियाबाट सिक्छन् । सिक्नको लागि बालबालिका उत्प्रेरित, संलग्न र सक्रिय हुनुपर्छ । कक्षाकोठाको वातावरणले पनि यी कुराहरूलाई प्रवर्द्धन गर्नुपर्ने हुन्छ । खेल नै सिकाइको माध्यम भएको हुनाले विभिन्न प्रकारका खेल खेल्न सकिने सिकाइ वातावरण तयार गर्नुपर्ने हुन्छ । अनुसन्धानहरूको अनुसार सिकाइका लागि निम्न प्रकारको भौतिक वातावरण आवश्यक छः
(क) सफा र सुरक्षित वातावरण
बालबालिकाले सिक्नको लागि उनीहरूको आवश्यकता पुरा भएको हुनुपर्छ । सम्भव भएसम्म सिकाइ वातावरण सफा, सुरक्षित र आरामदायी हुनुपर्छ । बालबालिकालाई दैनिक क्रियाकलापहरू गर्नको लागि उचित ठाँउको व्यवस्था भएको हुनुपर्छ । सिक्नको लागि बालबालिकाले ध्यान केन्द्रित गर्न सक्नुपर्छ । हामीले सुरक्षित, तनावमुक्त र उत्सुकता जाग्ने वातावरणमा सिक्छौं । कक्षाकोठाको सजावट पनि यसै हिसाबले हुनुपर्छ ।
सामान्यतः साना बालबालिकाको कक्षाकोठालाई रङ्गीन र छापामय बनाउनुपर्छ भन्ने धारणा रहेको हामीले पायौं । तर, विभिन्न अनुसन्धान अनुसार यस्ता दृश्यात्मक उत्प्रेरणाले भरिपूर्ण कक्षाकोठाले बालबालिकालाई ध्यानकेन्द्रिकरण गर्न गाह्रो बनाउने, कक्षाकोठामा भइरहेको क्रियाकलाप भन्दा फरक कुरामा उत्प्रेरित गर्ने र सिकाइ उपलब्धिमा ह्रास ल्याउने देखाएको छ । त्यसैले कक्षाकोठा सजाउँदा यी कुरालाई ध्यानमा राख्दै सिकाइमैत्री वातावरण बनाउनु पर्छ ।
बालबालिकालाई कक्षाकोठाको अपनत्व लिन लगाउनका लागि कक्षाकोठाका सम्बन्धित जिम्मेवारी लिन लगाउनु पर्छ । बालबालिकालाई पनि वयस्कलाई सहयोग गर्न र वास्तविक जीवन सम्बन्धित कार्यहरू गर्न मन पर्छ । त्यसैले दैनिक सरसफाइ कार्यक्रम जस्ता क्रियाकलापले बालबालिकालाई सक्रिय बनाउँछ ।
(ख) भाषिक विकासको प्रवर्द्धन गर्ने वातावरण
प्रारम्भिक बालविकास उमेर (०-८ वर्षसम्म) भाषिक विकास उच्चतम हुने समय हो । यस अवधिको सिकाइ वातावरण यो कुरालाई ध्यानमा राखेर तयार गर्नुपर्ने हुन्छ । सर्वप्रथम, सिकाइ वातावरणमा सकेसम्म धेरै कोलाहल नभएको हुनु पर्छ । ठूला कक्षाकोठाहरूमा भएका फर्निचर तथा स्थानीय सामग्रीहरूको प्रयोग गरेर साना खण्डहरू पनि बनाउन सकिन्छ । ठूला कक्षाकोठामा आवाज थर्किने हुँदा भुँईमा कार्पेट बिछ्याएर यस्ता समस्या कम गर्न सकिन्छ ।
कक्षाकोठामा हुने क्रियाकलाप अनुसार सम्बन्धित चित्रहरू प्रयोग गरेर कक्षाकोठा भित्रको अन्तरक्रियालाई प्रवर्द्धन गर्न सकिन्छ । दैनिक जीवनमा प्रयोग हुने चित्र तथा संकेतहरू पत्रपत्रिकाबाट पनि लिन सकिएला । यी सबै चित्रहरू बालबालिकाको आँखाको तहमा रहेको सुनिश्चित गर्नुपर्ने हुन्छ ।
(ग) मस्तिष्कलाई शान्त राख्न सहयोग गर्ने प्राकृतिक तत्त्व
साना बालबालिका विभिन्न किसिमको तनाव व्यवस्थापन गर्दै सिकिरहेका हुन्छन् । कुनै तनावले सिकाइमा सकारात्मक प्रभाव पारेको हुन्चन् भने कुनैले नकारात्मक । सिकाइ वातावरणमा रहेको प्राकृतिक तत्त्वले तनाव न्यूनीकरणमा सहयोग पुर्याउँछ । यसको लागि बाहिरी (प्राकृतिक) वातावरणमा रहने समय बढाउनुका साथै, कक्षाकोठामा प्राकृतिक कुराहरू सिकाइ सामग्रीमा प्रयोग गर्ने, सजाउनेदेखि लिएर हरियो र नीलो रङ्गको प्रयोग गर्नु पर्छ । सिकाइ वातावरणलाई उत्प्रेणात्मक बनाउनका लागि धेरै चहकिलो रङ्गहरूको प्रयोग गर्न नहुने कुरा अनुसन्धानले पनि पुष्टि गरेको छ । प्राकृतिक प्रकाशले बालबालिकालाई उत्प्रेरित र सकारात्मक बनाउँछ ।
प्राकृतिक तत्त्व बालबालिकाका लागि खुला किसिमका खेलौना हुन्, जसले बालबालिकाको कल्पनाशक्तिको विकास गराउँछ । परम्परागत रुपमा कक्षाकोठा भित्र गरिने क्रियाकलापहरू बाहिरी क्रियाकलापको रुपमा पनि गर्न सकिन्छ । सकेसम्म सिकाइ सामग्रीहरू प्राकृतिक हुनु पर्छ ।
(घ) सक्रिय सहभागिता प्रवर्द्धन गर्ने वातावरण
बालबालिकाले विभिन्न क्रियाकलापहरु गरेर वा शारीरिक सक्रियता मार्फत सिक्छन् । त्यसैले सिकाइ वातावरण सक्रिय सहभागिता सुनिश्चित गर्ने हुनुपर्छ । बालबालिकालाई बाहिरी तथा खुला ठाँउमा पहुँच हुनुपर्छ । सिकाइ वातावरणमा ईन्द्रिय अङ्ग सञ्चालन विकास गर्नका लागि धेरै र विभिन्न किसिमका सामग्री उपलब्ध हुनुपर्छ ।
बालबालिका उनीहरू रहेको वातावरणमा परिचित हुनुपर्छ र स्वतन्त्र रुपमा संलग्न वा सञ्चालित हुनुपर्छ । खेल तथा सिकाइ सामग्री सफा, सुरक्षित र बालबालिकाको पहुँचमा हुनुपर्छ । यसो गर्दा उनीहरू स्वतन्त्र रुपमा सिकाइमा स्वस्फूर्त संलग्न हुन सक्छन् र सिकाइ वातावरण प्रति उनीहरूको अपनत्व पनि जाग्छ ।
गुणस्तरीय सिकाइ वातावरणको विशेषतामा लचकता र परिमार्जनशीलता पनि हो । यो भनेको बालबालिकाको सिकाइ आवश्यकता अनुसार शिक्षकले भएका ठाँउ, फर्निचर तथा सामग्रीहरूको प्रयोगमा लचकता ल्याउने क्षमता पनि भर पर्छ । साथै दिनभरी गरिने विभिन्न क्रियाकलापमा उपलब्ध ठाँउ तथा सामग्रीको उचित र परिमार्जनशील प्रयोग पनि आवश्यक हुन्छ । यसले बालबालिकालाई दैनिक रुपमा उत्साहित पनि बनाउँछ ।
उदाहरणका लागि केही देशहरुमा भएका फर्निचरलाई नै सुरक्षित रुपमा खेल्ने सामग्रीको रुपमा परिणत गरेको पाईन्छ । जस्तै, टेबललाई पर्दाको प्रयोग गरी पपेट प्रदर्शनी मन्चका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तो लचकता र परिमार्जनशीलताले बालबालिकामा सिर्जनशिलता र अभिव्यक्ति सिपको विकास हुन्छ ।
